भारतीय राजनीतिमा नयाँ प्रयोग र मुद्दा आइरहेका हुन्छन् । यतिबेला दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल संयोजक रहेको आम आदमी पार्टी (आप) ले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यता प्रमाणपत्र देखाउन चुनौती दिइरहेको छ ।
देशभर अभियान नै सञ्चालन गरेर आपले जनताको घरदैलोमा गएर आफ्ना नेताको शैक्षिक प्रमाणपत्र देखाइरहेको छ, साथै प्रधानमन्त्री मोदी लगायत अन्य नेताले पनि शैक्षिक प्रमाणपत्र देखाउनुपर्ने चुनौती दिइरहेको छ ।
यसैबीच नेता शरद पवारले भने राजनीतिमा शैक्षिक योग्यताको विषय मुद्दा बन्न नसक्ने प्रतिक्रिया दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले भनेका छन्, ‘देशमा यतिबेला शैक्षिक योग्यताको प्रश्न छ र ? तपाईंको योग्यता कति हो, मेरो योग्यता कति हो, के यो राजनीतिक मुद्दा हो ? बेरोजगारी, कानून व्यवस्था, महंगाईको सवालमा केन्द्र सरकारमाथि हमला गर्नुपर्छ, आज धर्मजातिको नाममा मान्छेबीच दरार उत्पन्न गरिँदैछ । आज महाराष्ट्रमा बेमौसमी वर्षाका कारण खेतीपाती बर्बाद भएको छ, यस विषयमा चर्चा हुनुपर्छ ।’