काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।
बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो । नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ ।
आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ ।
यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । जसमध्ये नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबार सुरु भएको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले वृद्धि भएको छ । ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले गिरावट भएको छ ।