काठमाडाैं । पटक–पटक सुनुवाई सर्दै आएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा लम्बिएको छ । अदालतले उक्त घटनासँग सम्बन्धित चिकित्सक र क्रिकेट खेलाडीको बकपत्र गराउन आदेश गरेपछि मुद्दा तत्काल किनारा नलाग्ने भएको हो ।
दुई पटक सुनुवाई स्थगित भएको मुद्दा आज पेशी चढेपछि फैसला आउने अपेक्षा गरिएको थियो । तर, जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले चिकित्सक र क्रिकेट खेलाडीको बकपत्र गराउन आदेश दिएको छ ।
अदालतले पीडित भनिएकी किशोरीको मेडिकल परीक्षण गरेका डाक्टर, क्रिकेटहरु साहब आलम र अनिश श्रेष्ठको वकपत्र गराउन आदेश दिएको हो । अब उनीहरुको वकपत्रपछि मात्रै मुद्दाको फैसला आउने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा उमेर नपुगेकी किशोरी बलात्कारको मुद्दा दायर भएको थियो ।
यस मुद्दामा जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । उक्त आदेशसँगै उनी पूर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
आज सुनवाइका क्रममा सरकारी वकिलहरूले पीडितको मेडिकल परीक्षण गरेका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले यस्तो माग गरेपछि इजलासले सोहीअनुसारको आदेश गरेको हो ।