काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे ।
उनले अर्थतन्त्र सुधारमा पनि सरकारको ध्यान केन्द्रित रहेको बताए । “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।
अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै श्रेष्ठले यसलाई लयमा ल्याइने बताए । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररूपमा छलफल भइरहेको उनको भनाइ छ ।
“गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ । अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ”, उनले भने, “प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा वृहत् छलफल गर्दैछौं ।” अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरूपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । “हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौं”, उनले भने ।