काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन् । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
झण्डै एक वर्षअघि प्रचण्ड र लेखराजबीच भेट हुँदा बोलचाल समेत भएको थिएन । त्योबेला धनगढीमा भेट हुँदा औपचारिक नमस्कार वा अभिवादन समेत नगरी उनीहरु चुपचाप बसेका थिए । नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । तत्कालीन जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे । नेकपा विभाजनपछि एमाले प्रवेश गरेका भट्टसँग प्रचण्ड निक्कै चिढिएका थिए ।
भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।