काठमाडौं । प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक संसदमा पेस गरेकी हुन्। त्यस्तै संसदमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। जसमा संसदले सर्वसम्मतिले प्रश्तावलाई स्वीकृत गरेको हो।
संसदमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको छ। बैठकको अन्त्यमा सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारीसमेत गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते सोमबार दिनको १ बजे बस्नेछ।


