काठमाडौं । चिनियाँ राजदूत छन् सोङ्ले नेपालमा चिनियाँ लगानीलाई अनुकूल वातावरण सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । फ्रेन्ड्स अफ सिल्क रोड नेपालद्वारा बिहीबार आयोजित ‘चीनको बेल्ट एन्ड रोड इनिसियटिभ) को १० वर्ष र नेपालको अनुभव’ कार्यक्रममा सम्बोधन गर्दै राजदूत छन्ले भने,‘चिनियाँ लगानीलाई नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने आशा गर्छौं ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा वान बेल्ट वान रोड अवधारणालाई अघि बढाएका थिए । जसलाई सन् २०१५ मा आएर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नाम दिइयो ।
नेपालले सन् २०१७ को मेमा उक्त बीआरआईको दस्तावेजमा हस्ताक्षर गरेर पक्ष राष्ट्र बनेको थियो । तर हालसम्म नेपालले बीआरआई अन्तर्गतका कुनै पनि परियोजना अघि बढाएको छैन । तर चीनले भने पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईअन्तर्गत रहेको दाबी गरेको छ । उक्त दाबीलाई नेपाल सरकारले मानेको छैन ।
कार्यक्रममा राजदूत छन्ले बीआरआईमा चीनको सहयोगमा कुनै पनि परिवर्तन भएको प्रस्ट पारे । ‘बीआरआई पूर्णरुपमा खुला, समावेशी र पारदर्शी छ । यसलाई ऋणको पासो भन्ने गलत भाष्यको रुपमा खडा गर्न खोजिएको छ, जुन गलत हो । बीआरआई सहकार्यको लागि हो,’ उनले भने, ‘अब उच्चस्तरीय बीआरआई सहकार्यमा जान्छौं । बीआरआई कुनै पनि भूराजनीतिक उपकरण होइन ।’

