काठमाडौँ– उपराष्ट्रपति निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेससँग लिखित प्रष्टीकरण माग गरेको छ।
बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेपछि आयोगले कांग्रेससँग लिखित जवाफ मागेको छ।
कांग्रेसको उक्त निर्णय सार्वजनिक भएपछि ललितपुरका प्रेमबहादुर महर्जनले आयोगमा उजुरी दिएका थिए।
‘ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको हुँदा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन निर्देशिका, २०७४ को दफा ६२८१) विपरित आचारसंहिता उल्लङ्घन गरेकोले कानून बमोजिम कारवाही गरी पाउँ भनी उजुरी पर्न आएकोले काँग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरलाई उजूरी माग वमोजिम किन कारवाही हुनु नपर्ने हो भनी लिखित जवाफ माग गर्नुका साथै आचारसंहिताको पूर्ण परिपालनाका लागि सो दललाई ध्यानाकर्षण समेत गराई सकिएको छ,’आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै,निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टा देखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल सम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृसंगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा, सम्मेलन कार्यशाला गोष्ठी आदि गर्न नपाईने पनि आयोगले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ।


