काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्। माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्न विप्लवले धम्कीसमेत दिए। बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटक–पटक दोहोर्याए।
जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो। उनले भने, ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र? जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो। तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ।’ उनले जनयुद्ध नेपालका लागि नेपाली जनाताले लडेको अपवाद भएको बताएका छन्। पीडितले लडेको जनयुद्धलाई अपराधीकरण गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन्। ‘जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो। यो जनताले लडेको युद्ध हो। सुकुम्बासी, महिला, मजदुर, श्रमिक जनता, एकदम पिँधमा भन्छन नि।
पीडितले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो। तर लडेको मान्छे अपराधीकरण गरिँदैछ के यहाँ। यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन। हामी यसलाई जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि। उसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ। र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ। सजिलै जाला भन्ने कसैले सोचेको छ भने त्यो असम्भव छ नेपालमा।
यो हामीले भनेकै छौं,’ उनले चेतावनी दिँदै भने। महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए। नेपाल राष्ट्रलाई स्वाधिन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले दाबी गरे।

