काठमाडौँ – नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौँमा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ। फिफा विन्डोअन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ। जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्। फाइनल खेल चैत १७ गते हुनेछ।
यसअघि घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगिताको उद्घाटन हुनेछ। यस्तै चैत ११ गते भुटान र लाओस भिड्नेछन् भने चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ।
प्रतियोगितामा एन्फाले साधारण र भिआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ। सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ।
यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। कीर्गिस्तानको यु–२३ टोलीसहित नेपालले बंगलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले फाइनलमा बंगलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो।


