काठमाडाैं ।, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने जनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले निर्माण व्यवसायीहरूले सम्झौताअनुरूप काम नगरे, काममा उपेक्षा भए आवश्यक कारबाही गरिने चेतावनी दिए। मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरूसँग ठेक्का रद्द गर्नसक्ने तर्फ पनि सचेत गराए। उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौताअनुरूप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए।
उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको बताए। निर्माण व्यवसायीहरूलाई आफ्नो निवासमा नभेट्ने भन्दा कसैको उपेक्षा नहुने तर्क गरे।
उनले व्यवसायीहरूसँग मन्त्रालयमा सामूहिक रूपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे। मन्त्री र निर्माण व्यवसायीहरू मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उनको भनाइ थियो। मन्त्री श्रेष्ठले आफूले कुनै पनि निर्माण व्यवसायी तथा पुँजीपतिहरूसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्चसमेत नलिएको बताए।


