काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गर्ने बताएका छन्। सोमवार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो। भेटपछि सञ्चारकर्मीसँग अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुरा अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको यसबारे निर्णय गर्ने स्पष्ट पारे। उनले राष्ट्रपतिको निर्वाचनलाई सतर्कतासाथ हेरिरहेको बताए। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन्।


