काठमाडाैं । अहिले सम्पूर्ण नेपालीकाे जिज्ञासाकाे विषय बनेकाे छ नेपालले यु-१९ विश्वकपमा छनाैट गरेर स्थान पक्का गराउन सफल हाेला भन्ने विषयमा केन्द्रित बनेकाे छ । जसका लागि नेपालले भाेलीकाे खेल जित्ने पर्ने दबाव रहेकाे छ ।
भाेलि नेपाली क्रिकेट समर्थकहरूको विशेष ध्यान युनाइटेड अरब इमिरेट्स (यूएई) मा केन्द्रित हुनेछ। नेपालले यूएईविरुद्ध दुई महत्त्वपूर्ण खेल खेल्दै छ।
सिनियर टोलीले आईसीसी विश्वकप लिग-२ को खेल खेल्दै छ, जुन खेल अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको यूएई र छैटौँ स्थानमा रहेको नेपाल दुवैको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनका निम्ति महत्त्वपूर्ण हुने छ। उन्नाइस वर्ष मुनिको युवा टोलीले भने यु-१९ एसिया विश्वकप छनोटको खेल खेल्दै छ, जसको विजेता यु-१९ विश्वकपको लागि छनोट हुने छ।
यु-१९ युवा टोली विश्वकपको नजिक पुगेको आठ वर्षपछि हो। एक समय युवा क्रिकेटमा एसोसियट् राष्ट्रमा हैकम प्रदर्शन गरेको नेपाली टोलीको लय बिग्रिएको लामो समय भइसक्यो।
त्यसैले नेपाली क्रिकेटको लागि यो खेलले खास महत्त्व राख्दछ।
नेपाली क्रिकेटको सफलताको कुरा गर्ने हो भने त्यसको जग यु-१९ क्रिकेटको प्रदर्शनले नै निर्धारण गरेको देखिन्छ।
राणाकालदेखिको लामो इतिहास भए पनि सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको जग युवा टोलीको प्रदर्शन नै हो। त्यो सन् २००० पछि सुरु भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता नपाएकोले सुरुका दुई संस्करणमा नेपाल सहभागी हुन पाएको थिएन। सन् २००० बाट नेपालको यु-१९ एसिया कपमा प्रवेश भयो र प्रवेश गरेदेखि नै टोलीको प्रदर्शन जोडदार रूपमा प्रस्तु गरेकाे थियाे ।
नेपाली युवाहरूमा लामो समयदेखि दबेर बसेको क्रिकेटको भोक एकै पटक मैदानमा पोखिए जस्तो थियो। पारस खड्काको नेतृत्वको यस्तो युग सुरु भयो, जहाँ शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीहरू उदाएका थिए ।
नेपाल सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ को विश्वकपमा छनोट भयो। एसियाबाट छनोट भएर निरन्तर विश्वकप पुग्नु चानचुने विषय थिएन।त्यही टोली पछि गएर नेपालको बलियो सिनियर टोली बन्यो र नेपालले ओडीआई राष्ट्र सम्मको हैसियत प्राप्त गर्न सक्यो। यति मात्र होइन, टेस्ट नखेल्ने राष्ट्रहरूको एसोसियट् क्रिकेटमा नेपाल नम्बर वान भयो र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पनि ‘उदाउँदो राष्ट्र’ को रूपमा स्थापित भयो।
साेही क्रममा नेपालले विश्वका ठूला टेस्ट राष्ट्रहरू दक्षिण अफ्रिका, न्युजिल्यान्ड, आयरल्यान्ड, जिम्बाब्वे र बाङ्गलादेश जस्ता देशलाई घुँडा टेकायो।


