काठमाडौं । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आइतबार सुनुवाइ हुँदैछ।
एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिएपनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ।
सोही मुद्दाको फैसलाविरुद्ध पलले दिएको रिटको सुनुवाइ आज हुन लागेको हो। जबर्जस्ती करणी मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।
उता, सरकारी वकिलपनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन्।
पलका अधिवक्ता कमलामोहन वाग्लेका अनुसार आज पलका ती दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्दैछ। साथै, अधिवक्ता वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन्।
हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन्। तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ।