नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सोमबारबाट युएईमा विश्वकप लिग-२ अन्तर्गत आयोजक युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक सिरिजका महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ। केही दिनअघि काठमाडौंमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्ड र नामिबिया सम्मिलित टिमलाई सबै चार खेलमा पराजित गर्दै सनसनीपूर्ण घरेलु जित निकालेको थियो।
घरेलु सिरिजमा लेग स्पिनर सन्दीप लामिछानेले १३ विकेट लिए। सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालले पहिलो पटक ऐतिहासिक रुपम सिरिज क्लिन स्विप गर्यो। तर, नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको छ। नेपालले युएईमा हुने खेलमा उनलाई सहभागी गराउन पाउने छैन्। त्यसकै विरुद्धमा सन्दीपले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा बिहीबार निवेदन दिएका थिए जसको सुनुवाई शुक्रबार भएको थियो।
उनको विदेश जाने मागको सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाले मुद्दालाई अग्रधिकार दिए। उनले जारी गरेको फैसलामा भनिएको छ, ‘आगामी हप्तामा नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदन उपर को सुनुवाईमा ढिलाई हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जाने समेत देखियो।’ न्यायाधीश खतिवडाले मूल प्रयोजन समाप्त नहुने गरी आईतबार सन्दीपका बारेमा एकमुष्ट फैसला हुने गरी मुद्दालाई अग्रधिकार दिएका छन्।
अब आइतबार पाटन उच्च अदालतले दिएका आदेश विरुद्ध वादी र प्रतिवादी दुबैको मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ हुने छ। अर्थात सन्दीप लामिछानेलाई छोड्ने आदेश बदर गर्नुपर्ने सरकारी वकिलको माग र सन्दीप लामिछानेका सर्तहरु हटाएर विदेश खेल्न जान पाउनु पर्ने मागलाई संयुक्त इजालासमा राखेर बहस हुने छ। सर्वोच्चले दिने आदेशले सन्दीपलाई पुन जेल या युएई जाने तय आइतबार गर्नेछ।
हात मिलाएको प्रसंग अदालतमा पनि!
पछिल्लो समय सन्दीपले राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेपछि उनको पक्ष र विपक्षमा समाज विभाजित छ। कतिपयले सन्दीपलाई राज्यले खेल्न दिनु नै अपराधलाई पक्षपोषण राज्यले गरेको रुपमा बुझिरहेका छन् भने कतिपयले अपराधि प्रमाणित नभएको र आरोप लाग्दैमा कसैको करिअर अनन्तकालसम्म ड्यामेज गर्न नपाइने तर्क गरेका छन्।
पछिल्लो पटक मैदानम स्कटल्यान्डका खेलाडीले हात नमिलाएको प्रंसगका कारण समाजिक सञ्जालमा पक्ष र विपक्षमा वहस भएका थिए। तर बिहीबार नेपाली खेलाडीले घरेलु मैदानमा सबै चार खेलमा जित निकालेपछि बधाई तथा पुरस्कार घोषणा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै खेलाडीसँग हात मिलाएका थिए। यसै प्रसंगमा उनले सन्दीपसँग पनि हात मिलाए। सन्दीपसँग प्रचण्डले हात मिलाएपछि पुन: आलोचना र समर्थनमा सामाजिक सञ्जाल तातेको थियो।
अदालतमा शुक्रबार सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले कार्यपालिकाका प्रमुखले सन्दीपलाई खेलाडीको व्यवहार गरेको भन्दै सन्दीपसँग हात मिलाएको उक्त तस्बिर न्यायाधीश खतिवडालाई देखाउन खोजेका थिए। तर उनले हेर्न मानेनन्।