काठमाडौं । वालुवाटारमा तत्कालीन पाँचदलीय गठबनधन सम्बद्ध चार दलको बैठक जारी छ । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच छलफल जारी रहेको हो । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा निर्वाचित गर्ने बताए अनुसार नै अहिले बैठक बसिरहेको हो । बैठक राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउनमा केन्द्रीत रहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।
राष्ट्रपति निर्वाचनमा आम निर्वाचन अघिका पाँच दलीय गठबन्धन ब्युँताएर अघि बढ्ने पनि चर्चा छ । तर प्रधानमन्त्री प्रचण्डले बिहीबार सिंहदरवारबाट निस्कने क्रममा उक्त विषयमा सहमति भइनसकेको प्रतिकृया दिएका थिए । उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नेछन् । उता वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिनेगरी माधव नेपालाई राष्ट्रपति बनाउने र सहमतिमा अघि बढ्ने विषमा पनि छफल हुने छ ।