काठमाडौं । राष्ट्रपति निर्वाचनको कार्यतालिका सुरुभएसँगै सरकार परिवर्तनको सम्भावना बलियो बन्दै गएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नै सहमतिमा स्थिर नभएपछि सरकार परिवर्तनको सम्भावना बल पुगेको हो ।
बुधबार दिनभर भएका बैठक र छलफलले आम निर्वाचनताकाको पुरानै गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको छ । विशेषतः नेपाली कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउन सहमत जस्तै भएका हुन् ।
त्यसको औपचारिक खाका आज तयार हुने शीर्ष नेताहरूले बताएका छन् । त्यसका लागि साँझ ५ बजे तत्कालीन पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । त्यसअघि दलहरूले आ-आफ्नो पार्टीमा आवश्यक छलफल गर्ने भएका छन् । राष्ट्रपति कांग्रेसलाई दिन तत्कालीन पाँच दल लगभग सहमत देखिएका हुन् ।