काठमाडौं / राजनीतिक दलहरुले ‘सेरमोनियल’ राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाएपछि नयाँ राष्ट्रपति चयन प्रक्रिया पेचिलो बनेको छ । राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने फागुन १३ गते आइपुग्न केही दिन मात्र बाँकी रहँदा पनि दलहरुले राष्ट्रपतिको उम्मेदवारमा सहमति गर्न सकेका छैनन् ।
सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यसअघि भएको सहमति पालना नभएपछि नयाँ राष्ट्रपति को बन्ला भन्ने अझै अन्योल रहेको हो । दुवै दलले सत्ता गठबन्धन गर्ने क्रममा प्रधानमन्त्री माओवादीलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेले पाउने सहमति भएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेलामा कांग्रेसको पनि समर्थन पाएपछि राष्ट्रपति कांग्रेसबाट बनाउन चाहेका छन् । एमालेले राष्ट्रपति पनि लिँदा पछि प्रधानमन्त्रीको रुपमा निर्णय गर्दा राष्ट्रपतिको अड्चन आउन सक्ने र एमालेको दबाब रहने आशंकासहित प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य उम्मेदवार हुनुपर्नेमा जोड दिएको हो ।
कांग्रेस प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएर अहिले सत्ता गठबन्धन भत्काउने दाउमा छ । एमाले भने पुरानै सहमति कायम गराउन दबाब दिइरहेको छ । यही कारण एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जोगाउन राष्ट्रपतिका लागि एकपछि अर्को नेतालाई प्रस्ताव गरिरहेका छन् । तर, कांग्रेसले भने प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्री पद लिन र राष्ट्रपति आफूलाई दिन जोड गरिरहेको छ । अहिले कांग्रेसबाट स्वयं सभापति शेरबहादुर देउवाको नाम राष्ट्रपतिमा आएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि अर्का सम्भावित उम्मेदवार हुन् ।
तर, कांग्रेसलाई कुनै पनि हालतमा राष्ट्रपति नदिने तयारी रहेको एमालेले भने आफ्नै पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी एकता र राष्ट्रपति बन्न प्रस्ताव गरेको हो । नेपाललाई एमालेले अघि बढाउँदा माओवादी तथा प्रचण्डलाई पनि अप्ठ्यारो पर्ने देखिएको छ । यसअघि नेकपा एससँग गठबन्धनमा रहेको माओवादी तथा प्रचण्डलाई नेपाललाई अस्वीकार गर्न गाह्रो छ भने कांग्रेसलाई दिएको वचन पनि टाल्न अप्ठ्यारो देखिन्छ । त्यसैले पनि माओवादी स्वयं राष्ट्रपति नेपाललाई बनाउन कांग्रेसलाई मनाउनुपर्ने अवस्थामा आएको छ ।
एमाले स्रोतका अनुसार राष्ट्रपतिमा माधवकुमार नेपालसँगै झलनाथ खनाल र अमिक शेरचनको पनि प्रस्ताव गरिएको छ । तर, धेरै सम्भावना नेपाललको नै छ । शेरचन अहिले माओवादी केन्द्रबाट लुम्बिनीको प्रदेश प्रमुख छ । शेरचनले प्रधानमन्त्री प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए । तर देउवाले ‘ढिला भयो’ भन्ने जवाफ दिएपछि उनी रोकिए । अध्यक्ष नेपालसँग ओली आफैंले सांसद किसान श्रेष्ठको निवासमा भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव थियो । पूर्व प्रधानमन्त्री नेपालले पनि राष्ट्रपति बन्न चाहना देखाएका छन् । तर कांग्रेस र माओवादीले समर्थन गर्ने अवस्था आए अघि बढ्ने उनले जनाएका छन् ।
माओवादीले भने नेपाललाई राष्ट्रपति भए एमालेले औपचारिक निर्णय गर्नुपर्ने र राष्ट्रिय सहमति जुटाउन बैठक बोलाउनुपर्ने जनाएका छन् । हालसम्म उनीहरुले ओलीको प्रस्तावलाई बन्न लागेको सहमति भाँड्ने प्रयासका रुपमा अथ्र्याउँदै आएका छन् । कांग्रेस र माओवादी दुवै दलले नेपाल स्वयं पनि ओलीतिर जाने पक्षमा नभएको दाबी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूले आफैं राष्ट्रपति बन्नेबारे सोचिनसकेको जनाएका छन् । मंगलबार दाङमा पत्रकारहरूसँग कुरा गर्दै उनले चाहना राख्ने बेग्लै कुरा भएको भन्दै आफ्नो चाहनालाई पनि लुकाएनन् । ‘चाहना राख्ने बेग्लै कुरा भयो । मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘तर, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने धारणा छ । हामी अरुका निम्ति मात्रै सधैं बलिदान हुने, अरुले फाइदा उठाउने कुरा हुनसक्दैन ।’
अध्यक्ष नेपालले राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेस र माओवादी केन्द्रसँग आफूहरूको कुराकानी भएको जनाए । उनले त्यतिबेला आफूहरूले केही नामहरू अघि सारेको र उनीहरूको सहमति रहेको बताए । उनले देशको हितको रक्षा गर्ने कुराको सन्दर्भमा सबैले गम्भीर बन्नुपर्ने जनाए । ‘संविधानलाई जोगाउने र बचाउने कुराको सन्दर्भमा हामी अत्यन्तै चनाखो हुनुपर्ने भएको छ । यो गणतन्त्रलाई रक्षा गर्ने सन्दर्भमा सजग हुनुपर्ने भएको छ’, उनले भने । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवारको रुपमा नेपाललाई नै अघि सार्न लागेको समाचारहरू सार्वजनिक भइरहेका छन् । जनधारणा साप्ताहिकबाट