काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस पक्षमा परिणामात्मक थालनी गरेको भन्दै खुसी व्यक्त गरेका छन्। आइतबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा उनले उक्त कुरा बताएका हुन्।
विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे। ‘पहिलो त विकासप्रतिको बुझाइमै ठिक दृष्टिकोण बनाउन जरूरी छ,’ उनले भने, ‘त्यसका लागि ऐन-कानुन संशोधनमा समेत सरकारको जोड रहेको छ।’ प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए। उनले भने, ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ।’ NIMB IME भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राडा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्राडा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो। उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए।


