घानाका ३१ वर्षीय क्रिष्टियन एत्सु भुकम्प गएको करिब दुई सातापछि मृत भेटिएका छन्। टर्कीमा व्यावसायिक लिग खेल्ने उनी ६ फेब्रअरीको भुकम्पमा परेर हराइरहेका थिए। उनको शव करिब दुई सातापछि उनी बसेको घरको भग्नावशेषबाट बाहिर निकालिएको छ।
घानाका अन्तर्राष्ट्रिय खेलाडी एत्सुले प्रिमियर लिगमा एभर्टन, चेल्सी तथा न्यु क्यासलबाट व्यावसायिक फुटबल खेलेका थिए। एत्सुका एजेन्टले उनको निधनको पुष्टि गरेका हुन्। उनी बस्ने अपार्टमेन्ट पूर्ण रुपमा भुकम्पले ढलेको थियो। भुकम्प गएको केही दिनमा स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै उनलाई जिवितै उद्दार गरिएको अफहवा फैलिए पनि उनका एजेन्टले उक्त समाचारको खण्डन गरेका थिए।
उनका एजेन्ट नाना सशीयरले सामाजिक सञ्जाल ट्विटरमार्फत् मृत्युबारे जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘गह्रौं हृदयका साथ मैले भन्नुपरेको छ कि क्रिष्टियन एत्सुको शव आज बिहान फेला परेको छ। उनको परिवारप्रति गहिरो समवेदना छ।’
एत्सुको क्लब हताएस्पोरले दुःख व्यक्त गर्ने कुनै शब्द नभएको भन्दै क्लबले उनलाई कहिल्यै नबिर्सिने उल्लेख गरेको छ।
एत्सु हताएस्पोरमा सेम्टेम्बर २०२२ मा अनुबन्धन भएका थिए। उनले पाँच फेब्रुअरीमा भएको सुपरलिगमा क्लबलाई जिताउने गोल पनि गरेका थिए। दक्षिण टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा हालसम्म करिब ४५ हजार बढीको मृत्यु भएको छ।


