–निमकान्त पाण्डे,
रुसको लगानीबाट ०२४ सालमा राजा महेन्द्रकालमा स्थापना भएको कृषि औजार कारखाना ०५४ मा निजीकरण भई बन्द, महावीर पुनले अहिले सञ्चालनमा ल्याएका छन् ।
कुनै पनि देशको विकासका लागि औद्योगीकरण र सेवामूलक उद्योगको विकास हुनु प्रमुख मानिन्छ । तर दुर्भाग्य नै भन्नुपर्छ, नेपालमा औद्योगीकरणका लागि संगठित प्रयास भएनन्, भएका केही प्रयास पनि विभिन्न कालखण्डमा असफल गराइए । यसरी असफल हुनुमा भने हाम्रै राज्यको नीति तथा संयन्त्र, राजनीतिक दल र तिनका नेतृत्व तथा दलाल पुँजीवादी प्रवृत्ति प्रमुख रह्यो । फलस्वरुप देशमा नै उद्योग कलकारखानाको अभावमा पर्याप्त रोजगारी सृजना हुन सकेन, युवाशक्ति विदेश पलायन भए । कृषि उद्योग नहुँदा कृषक उत्पादनले पनि उचित बजार भाउ पाउन सकेनन् । मुलुकको अर्थतन्त्र नै विदेशमा काम गर्ने नेपालीहरुको रेमिट्यान्स र राजस्वमा आधारित भयो ।
पंक्तिकारले कुनै समयमा देशमा धमाधम उद्योग कलकारखाना स्थापना भएको नदेखेको होइन । तत्कालीन पञ्चायत कालमा विभिन्न देशको सहयोगमा स्थापना भएका उद्योगहरुले मुलुकमा औद्योगीकरणको सम्भावना देखाएका थिए । तर, न पञ्चायतका शासक तथा अधिकारीले ती उद्योगलाई बलियो बनाउन नसके न बहुदलपछि राजनीति दलले टिकाउन सके । उल्टो निजीकरणको मारमा पर्दा ती उद्योग सञ्चालन हुनै नसक्ने गरी थला परे । त्यतिबेला, भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स, हरिसिद्धि इँटा टायल कारखाना, बालाजु कपडा उद्योग, कृषि आयोजना सेवा केन्द्र, नेपाल कोल लिमिटेड, हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखना लिमिटेड, बाँसबारी छाला जुत्ता कारखानालगायत उद्योगधन्दा स्थापना भएका थिए । नेपाल रोजिन एण्ड टर्पेन्टाइन, नेपाल चिया विकास निगम, रघुपति जुट मिल, घरेलु शिल्पकला बिक्री भण्डार, नेपाल ड्रिलिङ कम्पनी, कांचो छाला संकलन तथा विक्री कम्पनी, नेपाल जुट विकास तथा व्यापार कम्पनी जस्ता उद्योग र बिक्रीवितरणका संस्थाहरु २०४८ सालमा सरकारको निजीकरणको नीतिसँगै धराशयी हुँदै गए र कहिल्यै उठ्नै नगर्ने गरी थला परे ।
तिनै थला परेका मध्ये एक उद्योगलाई अहिले सरकारले ब्युँताउने प्रयास गरेको छ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रको जिम्मा लगाएको हो । केन्द्रको प्रमुख छन्, रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन । पुनको काँधमा आएको यो उद्योगको स्थापना भने रुसको सहयोगमा २०२४ सालमा तत्कालीन राजा महेन्द्रको पालामा भएको हो । तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवले उद्घाटन गरेको उद्योगको शिलान्यास तत्कालीन उद्योग वाणिज्य मन्त्री नागेन्द्रप्रसाद रिजालले गरेका थिए ।
सुरुका वर्षमा नाफामा नै चलेको उद्योगमा कृषकका लागि आवश्यक उपकरण बनाइन्थ्यो । त्यतिबेला ९० प्रतिशत जनता कृषि पेशामा निर्भर थिए । उनीहरुलार्य कृषि क्षेत्रलाई आवश्यक पर्ने आधुनिक औजार उपकरण केन्द्रले बनाउने गरेको थियो । आफ्नै देशमा उपकरण तयार हुँदा सस्तो र सुलभ हुन्थ्यो भने यहाँको आवश्यकता अनुसार तयार पनि हुन्थ्यो । कारखानालाई सघाउ पु¥याउने उद्देश्यले किर्लोस्कर कम्पनी पुनासँग सम्झौता गरी पप्पसेट समेत तयार गरिएको थियो । किर्लोस्करले निर्माण गरेको पार्टसहरु प्रयोग गरी नारायणी किर्लोस्करको नामबाट पम्पसेट निर्माण गरी नेपालको औद्योगिक र कृषि विकासमा नौलो प्रयासको थालनी भएको थियो । यसका साथै कारणले दक्षता वृद्धिका लागि काम गदै आएको थियो ।
देशको कृषि क्षेत्रलाई एउटा उद्योग स्थापनाले मात्र कति टेवा पुग्दो रहेछ भन्ने यो एउटा कारखानाको स्थापनाले मात्र पनि बुझ्न सकिन्छ । तर, यो कारखाना दिगो हुन सकेन । विशेषगरी राज्यको गैरजिम्मेवारी प्रवृत्तिको शिकार यसले भोग्नुप¥यो । भारत लगायत देशबाट खुला सीमाको फाइदा उठाउँदै सस्तो मूल्यमा तस्करीका कृषि औजार भित्रिन थाले, जसलाई सरकारले रोक्न सकेन । न त सरकारले अनुदानको व्यवस्था गरेर नै जनतालाई स्वदेश उत्पादन प्रयोगमा प्रोत्साहित गर्न सक्यो । यही मौका छोपेर व्यवसायीहरुले निजीकरणका लागि प्रयास थाले । सरकारले पनि व्यवसायीलाई साथ थियो । सरकारी उद्योगलाई निजीकरण गर्ने योजना अनुरुप २०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत सेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।
त्यही कारखाना अहिले पुनः एक संस्थालाई जिम्मेवारी दिएर ब्युँताउने प्रयास भएको छ । महावीर पुनले पनि आगामी एक वर्षभित्रमा कारखानाबाट उपकरणहरु तयार हुन थाल्ने जनाएका छन् । त्यसो हुन सकेमा पक्कै पनि कृषि क्षेत्रका लागि ठूलो टेवा पुग्नेछ । सरकारले विशेषगरी यस्ता उपकरणमा अनुदान दिएर प्रयोग गर्न किसानलाई उत्प्रेरित गर्नुपर्नेछ । हाल देश हरेक वस्तुका लागि आयातमा निर्भर छ । कृषिप्रधान देश भनिए पनि नेपालले धानचामल समेत आयात गर्दै आएको छ । अत्यधिक आयातका कारण देशको अर्थतन्त्र पनि कहिले सुधार हुन सकेको छैन । साथै विश्वका हरेक गतिविधिले नेपालको बजारभाउ पनि फरक पार्ने गरेको छ । अर्कोतर्फ खेतबारी बाँझै राखेर युवाहरु विदेश पलायन हुने अर्को समस्या छ । यदि कृषि औजार कारखाना जस्तै पुराना उद्योगहरु सञ्चालनलाई सरकारले प्राथमिकतामा राख्ने हो भने देशमा औद्योगीकरणको लहर सुरु हुने आशा गर्न सकिन्छ, आगे राजनीतिका सरदारहरुलाई चेतना भया १