टर्कीमा ९० घण्टाको अथक प्रयासपछि भत्किएको भवनको भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ। बच्चाकाे उमेर जम्मा दश दिन रहेकाे छ। यो घटना सामन्दग सहरको हो। यस घटनालाई स्थानीय मिडियाहरूले ‘करिश्मा’काे संज्ञा दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार सोही ठाउँबाट एक व्यक्तिलाई पनि बाहिर निकालिएको थियो तर त्यो बालकको परिवारको सदस्य हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन। विनाशकारी प्रकोपको चार दिन बितिसक्दा चिसोमा अरू पनि बाँच्न सक्ने आशा धमिलो बन्दै गएको छ। तर, भूकम्प प्रभावित टर्की र छिमेकी सिरियामा अहिले पनि राहत र उद्धार कार्य जारी छ। उद्धारमा करिब १ लाख २५ हजार मानिस भेला भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत र सहयोगको घोषणा भइरहेको छ। तर राहत र उद्धारको काम भने सुस्त गतिमा भइरहेको स्थानीयले बताएका छन्। सोमबार आएको विनाशकारी भूकम्पमा टर्की र सिरियासँग सीमा जोडिएका धेरै क्षेत्रमा अधिकांश भवन ध्वस्त भएका छन्। भूकम्पमा परी दुवै देशमा मर्नेको संख्या २२ हजार ३०० नाघेको छ। मृत्यु हुनेमा सबैभन्दा बढी टर्कीका छन्। टर्कीका राष्ट्रपतिले यसलाई ‘शताब्दीको विनाशकारी घटना’ भनेका छन्।