काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिने बताएका छन् ।
मंगलबार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव कार्यक्रममा उनले सञ्चारकर्मीको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने पनि बताए ।
“सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ,” उनले भने, “पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिनेछ ।
सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिनेछ ।” विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानुनी र व्यावहारिक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने समेत प्रधानमन्त्रीले बताए ।