काठमाडौं – बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा एक पुरुषले आफ्नी श्रीमती र छोराको शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। आइतबार साँझ करिब ५ बजेतिर शक्तिनगरका भानुभक्त विकले श्रीमती गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकको शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। छोरा र श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि भानुभक्त आफू फरार भएको स्थानीयले जानकारी दिएका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उनको खोजी कार्य जारी छ। पेट्रोल छर्केर आगो लगाइएका बालकको अवस्था गम्भीर छ। उनको दुवै हात, घाँटी, अनुहार र टाउकोमा आगोले जलेको छ। पेट्रोल छर्केर आगो लागेको देखेपछि स्थानीयले दुवै जनालाई कोहलपुर मेडिकल कलेज पुर्याएका थिए। कोहलपुर मेडिकल कलेजले बालकलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने सुझाव दिएको छ। बालकलाई थप उपचारका लागि अहिले नेपालगञ्ज लगिएको छ।