काठमाडौं । अन्ततः रवि लामिछानले नागरिकता पुनः प्राप्ति गरेका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् ।
सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने आदेश दिएकाले उनले सामान्य प्रक्रियाबाट नागरिकता लिएका हुन् । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो ।
लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरणमा उनको नागरिकता नम्बर १८२२२ रहेको उल्लेख छ । कामको सिलसिलामा अमेरिकामा पुगेका लामिछानेले २०१४ को फेब्रुअरी २१ मा अमेरिकाको नागरिकता प्राप्त गरेका थिए । अमेरिकाको नागरिकता प्राप्त गरेपनि सोको जानकारी नेपाल सरकार वा जिल्ला प्रशासन कार्यालयलाई गरेका थिएनन् ।
लामिछानेले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिइसकेपछि पनि पुनः नेपाली नागरिकता र पासपोर्ट प्रयोग गरेको भन्दै उनीमाथि प्रहरीले फौजदारी कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
अमेरिकी नागरिक रहेकै समयमा उनी नेपालमा आएर सञ्चारकर्म सुरु गरेपछि उनी नेपाली नागरिक नरहेको र वर्क परमिट नलिई काम गरेको भन्दै विवाद भएको थियो । त्यसपछि मात्रै लामिछानेले २०७५ जेठ ४ गते अमेरिकी दूतावासमा नेपाली नागरिकता त्यागका लागि निवेदन दिएका थिए । त्यसको करिब ४० दिनपछि उनको नागरिकता रद्द भएको भन्दै अमेरिकी दूतावासले पठाएको पत्र फेसबुकमा राख्दै आफूले नागरिकता त्याग गरेको जानकारी गराएका थिए ।
नागरिकता अवैध ठहर भएपनि उनले मन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए ।