काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।
बोर्डले विगत लामो समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ।
बोर्डसँग छलफल र संवाद नगरी पार्किङ हटाउने निर्णय बोर्डले नमान्ने जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतीले स्मार्ट पार्किङ राखेर व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताए। उनले महानगरले बोर्डसँग तत्काल छलफल गरेर पार्किङ व्यवस्था तत्काल गर्नुपर्ने बताए।
उनले महानगरले एक्कासी पार्किङ हटाउँदा दरबारमार्गको रौनकता र आगन्तुकहरुप्रति पर्ने असुविधा र व्यापारमा पर्ने प्रभावको विषयमा नसोचेको आरोप लगाए। महानगरले दरबारमार्गको रौनक,पर्यटकहरुलाई उचित सुविधा र विश्वसनियता कायम राख्न तत्काल पार्किङस्थललाई यथावत राख्न आग्रह गरे।
उनले महानगरले बोर्डको मागलाई सम्बोधन नगरे चरणवद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए। उनले महानगरले दरबारमार्ग क्षेत्रका पार्किङ हटाउँदा त्यस क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको दाबी गरे।