काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी वर्षको जेठ पहिलो सातादेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन लिगका क्लबहरुबीच शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको छलफलपछि लिग जेठ १ गतेदेखि सुरु गर्ने सहमति भएको हो ।
यसपटक ‘सी’ डिभिजन लिगको विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले चार लाख रुपैयाँ पाउने तय भइसकेको छ । यस्तै, प्रतियोगिताको ‘फेयर प्ले अवार्ड’ पाउँने टिमले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार रुपैयाँ पाउनेछन् ।
प्रत्येक खेलको विजेता टिमले २० हजार रुपैयाँ पाउनेछन् भने यदि खेल बराबर भएमा दुवै टिमले समान सात हजार पाँच सय रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसपटक एन्फाले लिगको तयारी खर्चका लागि सहभागी १४ क्लबलाई ११ लाख रुपैयाँ दिनेछ ।