-कुलचन्द्र न्यौपाने
काठमाडौं । गैरवामपन्थी ध्रुवीकरणबाट तत्काल सत्ता फर्काउने सम्भावना नदेखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर माओवादीसँग सत्ता समीकरणको सम्भावना जीवित राख्ने संकेत गरेका छन् । कुनै पनि बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दाहालको खटपट हुने आकलनसहित देउवाले विश्वासको मत दिने विषयमा पार्टीभित्र परामर्श थालेका छन् ।
सिंहदरबारस्थित कार्यालयमा शनिबार बसेको कांग्रेस संसदीय दल बैठकको निर्णयमा पार्टी प्रमुख प्रतिपक्षमा बस्ने उल्लेख छैन । ‘प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरूको अपेक्षाबमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्न यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ,’ निर्णयमा भनिएको छ ।
‘विदेशी शक्तिको आड’ र आफ्नै कोटरीको विश्वासमा पर्दा सत्ता र शक्ति गुमाउनुपरेका कारण पछुताइरहेका देउवाले यस पटक भने अन्य शीर्ष नेतासँग राय–सुझाव लिइरहेका छन् । खासगरी उनले अर्को पक्षका नेता शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि विश्वासमा राख्न खोजेका छन् । उनले शुक्रबार महामन्त्रीद्वयलाई निवासमै बोलाएर छलफल गरेका थिए । उनले शेखर, शशांक कोइरालासहित पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन् ।
नेता शेखर मुलुकको अवस्था र राजनीतिक तरलताका बीच कांग्रेस प्रतिपक्षमा बस्ने कि सरकारलाई समर्थन दिने भन्नेमा सोचेर निर्णय लिनुपर्ने बताउँछन् । ‘पाँच वर्ष प्रतिपक्षमा बस्ने हो भने त्यही किसिमको तयारी हुनुपर्छ । होइन, भोलिको राजनीति पनि हेर्ने हो भने सहमतिका साथ जानुपर्छ, त्यसका लागि सरकारलाई समर्थन दिनुपर्छ,’ उनले भने, ‘कर्मचारीलाई तलब खुवाउनसमेत नसक्ने गरी अर्थतन्त्र संकटमा पुगेको छ । अर्कातिर राजनीतिक अस्थिरता बढ्ने चिन्ता छ । यस्तो अवस्थामा हामीले सहमतीय बाटो रोज्ने कि प्रतिपक्ष भन्नेमा गहिरो ढंगले सोचेर निर्णय लिनुपर्छ ।’
कांग्रेस नेता रामचन्द्र पौडेल पनि केही समयअघिदेखि नै सहमतीय सरकार भन्दै सरकारलाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । सरकारलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा नयाँ ध्रुवीकरणको सम्भावना हुन सक्ने उनको आकलन छ । देउवाले बनाइरहेको मनस्थिति र पौडेलले बोल्दै आएको भनाइबीच तालमेल भने मिल्दैन । देउवाले प्रधानमन्त्रीको हठ नत्याग्दा पौडेलले मुखमै आएको राष्ट्रपति पद गुमाएका थिए । तरल राजनीतिका बीच कांग्रेस सरकारको पक्षमा उभिँदा राष्ट्रपतिको अवसर जुर्छ कि भन्ने आसमा पौडेल छन् । तर, देउवाको योजना भविष्यमा सत्ता समीकरण नै उल्टाउने रहेको नेताहरू बताउँछन् ।
‘मुलुकमा धेरै किसिमका संकट देखिएका छन्, अस्थिरताको खेल खेलेर फाइदा छैन, राजनीतिक स्थिरता हुने/नहुने विषयले मुलुकको भविष्य र विकासलाई धेरै प्रभाव पार्छ, सभापति र अरू नेताले के लक्ष्य राखेका छन्, मलाई थाहा छैन,’ पौडेलले भने, ‘राष्ट्रपति र सभामुखमा के हुने भन्नेमा सत्ताका खेलाडीहरूले कहाँ–कहाँ सम्झौता गर्लान् तर मैले राजनीतिको गहिरो अध्ययन गरेर यो भनिरहेको छु ।’
महामन्त्रीद्वय थापा र शर्मा भने सरकारलाई विश्वासको मत नदिई प्रमुख प्रतिपक्षको भूमिकामा बस्नुपर्ने अडानमा छन् । उनीहरूको यो अडानसँग पार्टीको ठूलो तप्का जोडिएको छ ।
‘संसद्को दोस्रो र तेस्रो दल मिलेर सरकार बनाएपछि कांग्रेस प्रमुख प्रतिपक्षमा बस्नुपर्छ, हामीले पाएको जिम्मेवारी पनि प्रमुख प्रतिपक्षकै हो,’ थापाले कान्तिपुरसँग भने, ‘प्रतिपक्षमा बस्ने धारणा पार्टीमा राख्छौं, पार्टीको निर्णय पनि यही हुन्छ ।’
कांग्रेसका एक पदाधिकारीका अनुसार सुरुवातमा देउवाको योजना पुस २६ मा प्रधानमन्त्री दाहालले राख्ने विश्वासको प्रस्ताव असफल बनाएर गैरवामपन्थी समीकरणमा प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने थियो । दाहालले विश्वासको मत प्राप्त गर्न नसक्दा संविधानबमोजिम देउवा प्रधानमन्त्री बन्ने ढोका खुल्छ । संविधानको धारा ७६ (२) अन्तर्गत बनेको संयुक्त सरकारले विश्वासको मत प्राप्त गर्न नसक्दा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्था धारा ७६ (३) मा छ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको छलफलपछि तत्काल सत्ता फर्काउने सम्भावना नदेखेका देउवाले माओवादीसँगको सम्बन्धलाई कायम राख्ने रणनीति बनाएका हुन् । देउवाको यो रणनीतिभित्र भूराजनीतिक प्रभावसमेत रहेको कांग्रेस नेताहरूको दाबी छ । सरकारलाई विश्वासको मत दिँदा राष्ट्रपति र सभामुखको निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण हुने कुरामा देउवालाई विदेशी शक्ति, मुख्यगरी भारतले विश्वास दिलाएको कांग्रेस नेताहरूको दाबी छ ।
एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद नदिन भारतको चलखेल बढिरहेको नेताहरूको भनाइ छ । ‘त्यसैको असरस्वरूप कांग्रेस नेतृत्व प्रतिपक्षमा बस्ने कि सरकारलाई विश्वासको मत दिने भन्ने द्विविधा परेको हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘हिजो जसको आडभरोसामा परेर प्रचण्डलाई प्रधानमन्त्री स्वीकारिएन, त्यही शक्तिले फेरि विश्वासको मत दिनका लागि कांग्रेसलाई मनाउन खोजिरहेको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘विश्वासको मत दिए सभामुख पाउनुहुन्छ भन्ने संकेत आइसकेको छ, कांग्रेसलाई प्रधानमन्त्री हुन त दिएनन् नै, प्रतिपक्षी दलको नेता पनि खोस्ने सम्भावना बढी देखिँदै छ ।’
माओवादी उपमहासचिव जनार्दन शर्माले शुक्रबार धुम्बाराहीस्थित निवासमै पुगेर देउवासँग विश्वासको मत मागेका थिए । स्रोतका अनुसार कांग्रेसले विश्वासको मत दिए सभामुखमा कांग्रेसलाई साथ दिन सकिने संकेत उनको थियो । माओवादीका अर्का नेता हरिबोल गजुरेल भने त्यस्तो खालको चर्चामा सत्यता नभएको दाबी गर्छन् । ‘एउटा परिस्थितिले हामी कांग्रेससँग अलग भएका हौं तर सरकार चलाउँदा ऊसँग सहकार्य गर्नुपर्ने अवस्था छ, शान्तिप्रक्रिया टुंग्याउन बाँकी छ, त्यसैले भोट माग्ने कुरा स्वाभाविक हो,’ उनले भने, ‘कांग्रेसले समर्थन दिए सभामुखमा माओवादीले सहयोग गर्ने भन्ने कुरा सत्य होइन ।’
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सरकारलाई विश्वासको मत दिनेतिर नलागेर कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् । ‘नेतृत्वलाई माओवादीसँगको सम्बन्ध नबिगारौं भन्ने होला तर यसले प्रतिपक्षी बेञ्च पनि गुम्ने अवस्था हुन्छ । संसद् प्रमुख प्रतिपक्षीविहीन बन्ने अवस्था लोकतन्त्रमा हुन सक्दैन,’ उनले भने, ‘भोलिका दिनमा सत्ता र शक्तिमा साझेदारी गर्ने हिसाबले विश्वासको मत दिने चर्चा आएको हुन सक्छ तर कांग्रेस यो बाटोमा जानै हुन्न । जान सक्दैन ।’