काठमाडौं । सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको ७ दलीय सरकारलाई समर्थन जनाएको राप्रपालाई विश्वासको मत दिनुअघि उक्त प्रस्ताव गरिएको हो।
राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार प्रस्ताव आएपनि त्यस विषयमा कुनै निर्णय भने भइसकेको छैन। उनका अनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले निकटस्थमार्फत् राप्रपा अध्यक्ष लिङ्देनसमक्ष उक्त प्रस्ताव पठाएका हुन्। जसका विषयमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकमा समेत अनौपचारिक छलफल भएको थियो।
नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई सुरुवाती समर्थन दिएको राप्रपाले अझै सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन। सुरुमा बाहिरैबाट समर्थन गर्ने जनाएको राप्रपाले सांसदहरुको दबाबपछि सरकारमा जाने तयारी भने गरेको छ। बुधबार सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा अध्यक्ष लिङ्देनले उपप्रधानसहित ४ मन्त्रालय मागेका छन्। तर सत्ता गठबन्धनका दलहरु भने पर्यटन तथा संस्कृतिसहित ३ मन्त्रालय दिन तयार छन्।
देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग समेत भेटवार्ता गरेका थिए। जसपाले पनि प्रचण्डलाई समर्थन जनाएको छ, तर सरकारमा जाने निर्णय लिइसकेको छैन। अहिले सत्ता गठबन्धनबाहिर कांग्रेस ८८, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी ४ र राष्ट्रिय जनमोर्चा एक गरी १०३ सिट छ। सरकारमा नगएका तर समर्थन गरेका राप्रपा १४, जसपा १२ र नागरिक उन्मुक्ति पार्टी ४ गरी ३० सिट रहेको छ। यो सवैगरी १३३ सिट हुन्छ। अर्को जनमत पार्टी समेत समेट्दा थप ६ सिट थपिनेछ। यस्तो अवस्थामा १३९ सहित कांग्रेस समिकरणको बहुमत पुग्छ।