काठमाडौँ – बुधबार राष्ट्रपति भवन शितल निवासमा तत्कालीन नेकपाका तीन शीर्ष नेता एवं हाल एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एउटै लहरमा देखिए।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने औपचारिक कार्यक्रममा तीन नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका हुन्।
कांग्रेससँगको गठबन्धन तोडेर वामपन्थीको मात्रै सरकार बनाउन तीनै पार्टीका दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला सौहाद्रपूर्ण रुपमा कानेखुुसी गरेको तस्बिर सार्वजनिक भएपछि एमाले, माओवादी र समाजवादीका कार्यकर्ताको उत्साह सामाजिक सञ्जालमा देखिएको छ।
फेसबुकमा फोटा राख्दै एमाले नेतृ शान्ता चौधरीले भनेकी छिन्, ‘यी फोटाहरुले पोजेटिभ मेसेज दिन सकून्।’
कार्यकर्ताले एक भएर तीन टुक्रा भएका दलहरु सरकार निर्माणसँगै एक ठाउँमा उभिउन भन्ने चाहना गरे पनि राजनीतिक रुपमा भने त्यसका लागि ठोस प्रगति हुन नसकेको नेताहरु बताउँछन्।
केही दिनअघि माओवादी केन्द्रका महासचिव देव गुरुङले बालकोट पुगेर ओलीसँग लामै छलफल गरेका थिए भने ओलीतर्फका नेताहरु पनि त्यहीँ रुपमा दाहालसँगको संवादमा छन्। तथापी बुधबारसम्म एमाले माओवादी मिलेर सरकार गठन गर्ने आधार नबनेको नेता सुवास नेम्वाङ बताउँछन्।
तीन दललाई मिलाएर सरकार गठनमा सक्रिय भएका नेम्वाङले देश सञ्चारसँग भने, ‘यस विषयमा कुराकानी भइरहेकै छ। तर प्रगति छैन। यसअघि जे जे भए पनि सबै बिर्सिर अघि बढ्नुपर्छ।’
एमाले माओवादीका दोस्रो तेस्रा तहका नेताहरु दुई दल जसरी पनि मिल्नुपर्ने र राजनीतिक कोर्षलाई ‘सुल्टो बाटोमा’ फर्काउनुपर्ने भन्दै अध्यक्षहरुलाई दबाब दिइरहेका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न सात दिने समय दिएर आइतबार आह्वान गरेकी छिन्।
तीन दिन बितिसक्दासमेत कसैले पनि प्रधानमन्त्रीमा दाबी पेश गरेका छैनन्। बुधबार कांग्रेस संसदीय दलको चुनाव सकिएसँगै अब प्रधानमन्त्री चयनका लागि छलफलमा दलहरु केन्द्रित भएका छन्। दलका नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि प्रचण्डले उनीसँग भेट गरेका छन्।
कुराकानीपछि दुवै नेताले अस्पताल भर्ना भएका सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई शिक्षण अस्पताल पुगेर भेट गरेका छन्।