काठमाडौं । संसदीय दलको निर्वाचनमा बुधबार भएको निर्वाचनमा पराजयपछि गगन थापाले आफूले अपेक्षा गरे अनुसार मत नपाएको बताएका छन्। आफूले योभन्दा धेरै राम्रो मत पाउने सोचेको उनको भनाइ छ।
सिंहदबारमा भएको निर्वाचनपछि उनले भने- ‘म थाक्दिनँ, निराश हुन्नँ। अरु मेहनत गर्छु। अरु लाग्छु। संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डाचाहिँ किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु।’
उनले आफूलाई कुनै बिन्दुमा सुखद परिणाम आउने बताए। ‘कुनै एउटा बिन्दु आउँछ, समय आउँछ, त्यतिखेर पार्टीभित्रका बहुसंख्यक साथीहरुले महसुस गर्नुहुन्छ, मनन गर्नुहुन्छ। त्यो बेलामा सुखद परिणाम आउँछ भन्ने अपेक्षा पनि गर्ने हो, प्रयत्न गर्ने हो।’
बुधबार सम्पन्न संसदीय दलको नेतामा थापाले २५ मत मात्रै पाएका थिए। विजयी भएका शेरबहादुर देउवाले ६४ मत पाएका छन्।