काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालन गराइएको आरोप लागेको छ।
कांग्रेस महामन्त्री समेत रहेका थापा बसेको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए।
त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचयपत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन्।
तीमध्ये एक जनाको साथमा नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले बताए ।
तीमध्ये एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलेको छ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहानका लागि तय भएको छ जहाँ सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिष्पर्धा हुँदैछ ।