काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गरेसँगै संस्थापनइतर पक्षका नेताहरु छलफलमा जुटेका छन् । संस्थापनइतरबाट संसदीय दलमा दुई नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आकांक्षा देखाएपछि दुई नेताहरूलाई सहमति गराएर एकै जना उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । बिहान कोइराला र गगनलाई बाहिर राखेर इतरपक्षका नेताहरूले छलफल गरेका थिए ।
अहिले दुवै नेताहरूलाई सँगै राखेर छलफल जारी भएको कोइरालाको सचिवालयले जनाएको छ । इतरपक्षका नेताहरू उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, बलबहादुर केसी र दिलेन्द्र बडु छलफलमा सहभागी भएका छन् ।
संस्थापनपक्षबाट भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताका लागि एकल उम्मेदवार छन् । संस्थापनइतर पक्षबाट पनि दुईमध्ये एकलाई उम्मेदवार बनाउने कसरत भइरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ ।