सियोल – प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
प्योङयाङले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ।
उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११ः१३ देखि अपराह्न १२ः०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो। जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ।’
जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाईमा पुगेको थियो।
‘यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो विल्कुलै अस्वीकार्य कार्य हो,’ वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने।
उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’को परीक्षण गरेको केही दिनपछि आइतबारको प्रक्षेपण भएको हो। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन्।
आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको निर्माण गरिरहेको छ। –रासस/एएफपी