एजेन्सी । इरानमा सरकार विराेधी प्रदर्शनकारीलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन्।
सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो। गत हप्ता तरानेह अलिदोस्तीले हिजाब विरुद्धको विरोध समर्थनमा उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी थिइन्।
उनले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्बिर राखेकी थिइन्। आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी नामका व्यक्तिलाई दिइएको मृत्युदण्डको पनि अभिनेत्रीले आलाेचना गरेकी थिइन्।
मोहसेन शेखरीलाई ‘दंगा’ गरेको आरोपमा फाँसी दिइएको थियो। ओस्कार विजेता चलचित्र ‘द सेल्सम्यान’ काे अभिनयका लागि ३८ वर्षीया तरानेह अलिदोस्ती निकै प्रख्यात छिन्। आफ्नो पोस्टमा उनले मोहसेन शेखारीको सजायको विरुद्धमा केही नबोलेको भन्दै केही अन्तर्राष्ट्रिय संस्थालाई पनि निशाना बनाएकी छिन्।
उनले लेखेकी छन्, ‘उनको नाम मोहसेन शेकरी थियो। यो रक्तपात देखेर कुनै कारबाही नगर्ने हरेक अन्तर्राष्ट्रिय संस्थाले मानवतालाई कलंकित गर्न लागेको छ।
तरानेहको ८० लाख फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध लगाइएको छ। इरानमा नैतिकता प्रहरीको हिरासतमा महसा अमिनीको मृत्यु भएपछि इरानमा महिला अधिकारका लागि हिंसात्मक प्रदर्शन भइरहेको । तरानेह आन्दोलन सुरु भएदेखि नै सरकारको कडा आलोचक हुन्।