काठमाडौं । दलहरू नयाँ सरकार गठनको कसरतमा जुटिरहेका बेला सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भोलि नै संसदीय दलको चुनाव गर्ने भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि नै संसदीय दलको चुनाव गराउने तयारी गरेका छन् ।
सकेसम्म छिटो दलको नेता छान्ने चुनाव भए आफू सहजै विजयी हुने र शेखर–गगन समूह चिरा पर्ने देउवाको विश्वास छ । ‘सभापति जिले भोलि नै संसदीय दलको चुनाव गराउने तयारी गरिरहनुभएको छ’, स्रोतले भन्यो, ‘यसो हुँदा इतर समूहको चलखेल रोकिने छ ।’ संसदमा ८९ सिट जितेको कांग्रेसमा संस्थापन समूहबाट सभापति देउवा संसदीय दलको नेता बन्ने लाइनमा छन् । यसबाहेक नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा लगायतका नेताहरू पनि दाबेदार छन् ।
संसदीय दलको नेता चयन हुनका लागि देउवासँग अहिले सुविधाजनक बहुमत छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ । आजकै बैठकबाट भोलि संसदीय दलको चुनाव गर्ने निर्णय लिइने स्रोतको दाबी छ ।