राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन्। वासिङ्टनमा आयोजित अमेरिकी-अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन्।
राष्ट्रपतिले भ्रमणको घोषणा गरे पनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन। विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे।
अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो।
अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गरेका थिए।
उक्त सम्मेलन सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष आयोजना गरेका हुन्।
विश्वका शक्ति राष्ट्रहरूका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्वपूर्ण मानिन्छन्।