आगामी आइतबार राति ८ः४५ मा हुने कतार विश्वकपको फाइनल खेलाउने जिम्मा पोल्याण्डका साइमेन मार्सिनियाकले पाएका छन्। कतारको लुसेल स्टेडियममा हुने खेलमा जारी संस्करणको फाइनलमा अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन्।
यसअघि मार्सिनियाकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्रीको भूमिका निभाएका थिए भने प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेलमा पनि उनी रेफ्री रहेका थिए। मार्सिनियाकलाई पोल्याण्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन्।
विश्वकपमा अर्जेन्टिना ३६ वर्षपछि उपाधि जित्ने लक्ष्यमा हुँदा फ्रान्स लगातार दोस्रो पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने लक्ष्यमा रहेको छ। फ्रान्स च्याम्पियन बने इटाली र ब्राजिलपछि लगातार दुई संस्करणको उपाधि जित्ने पहिलो टिम बन्ने छ। ब्राजिलले १९५८ र १९६२ विश्वकप जित्दै लगातार दुई संस्करणको उपाधि जितेको थियो।
त्यसअघि शनिबार हुने तेस्रो स्थानको खेलका लागि भने कतारका अब्दुल रहमानले खेलाउने भएका छन्। मोरक्को र क्रोएशियाबीच हुने प्रतिस्पर्धामा दुबै टिम तेस्रो हुने लक्ष्यका साथमा मैदानमा उत्रिने छन्।
उनले विश्वकपको समूह चरणमा अमेरिका र वेल्सको खेलमा रेफ्रीको भूमिका निभाएका थिए। सन् २०१९ मा लिभरपुल र फ्लेमेंगोबीचको फिफा क्लब विश्वकपको फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।