काठमाडौँ, मङ्सिर २९ गते । चिनियाँ कार्यवाहक राजदूत वाङ सिङले नेपालमा उत्पादन भएका विद्युतलाई चीन सरकारले खरिद गर्न सक्ने बताउनुभएकाे छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेसनको प्रतिवेदनमा के छ ?’ भन्ने शीर्षकमा लेखिएको पुस्तक विमाेचन गरेपछि उहाँले साे धारणा राख्नुभएकाे हाे ।
विमोचित पुस्तक अरनिको समाजका प्रथम उपाध्यक्ष डा. सर्वाेत्तम श्रेष्ठले अनुवादन र सम्पादन गर्नुभएको हो ।
उहाँले चीन र नेपालबीच मैत्रिपूर्ण सम्बन्धहरुलाई नयाँ उचाईमा पुर्याउन आवश्यक भएको कुरामा जाेड दिनुभयाे । दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनको लागि चीनदेखि नेपालसम्म ल्याउने रेलमार्गको बारेमा विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो ।
उहाँले सन् २०५० सम्म एक अर्ब ४० करोड चिनियाँ जनतालाई आधुनिकीकरणतर्फ लैजान चीन सरकारले योजना बनाइरहेका कारण सो योजनाबाट नेपाल र नेपाली जनता पनि लाभान्वित हुने बताउनुभयो ।
कोरोना भाइरसको समयमा चिनियाँ सरकारले कडा रुपमा प्रतिबन्ध लगाउन सकेकाले ४० लाख जनता बचाउन सकिएको दाबी प्रस्तुत गर्नुभयो ।
उहाँले पछिल्ला चीन सरकारको कदम विश्व शान्ति स्थापना गर्न र विश्वमा आर्थिक उत्पादन वृद्धि गर्न सक्रियता बढेको पनि उल्लेख गर्नुभयो ।
यसैबीच, विमोचित पुस्तकका विविध आयमहरुबारे प्राध्यापक रुपेशकृष्ण श्रेष्ठ, गोरखापत्र संस्थानका पूर्वप्रधानसम्पादक पुष्करभक्त माथेमा, विन्दामान प्रधान, सहप्राध्यापक सुमनमान श्रेष्ठ, पाटन सङ्ग्रहालयका सुरेश लाखे, महेन्द्र श्रेष्ठ र पत्रकार उपेश महर्जनले टिप्पणी गर्नुभएको थियो ।
विमोचित पुस्तकद्वारा नेपाली पाठकहरुले सहज रुपमा चीन, चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको आगामी कार्ययोजना, कार्यनीति र रणनीति बुझ्न सकिने धारणा टिप्पणीकारहरुले राख्नुभयो ।