काठमाडाैं । गम्भीर मुद्दाका अभियुक्तलाई पनि आममाफी दिन मिल्ने गरी सरकारले अघि बढाएको अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले माग गरेको छ ।
अध्यादेश संविधानको मर्मतविपरीत रहेको र त्यसले वहालवाला सुरक्षाकर्मी, अवकाशप्राप्त सुरक्षाकर्मी र उनीहरुको परिवारलाई हतोत्साहित र निरास बनाएको भन्दै मञ्चले तत्काल खारेजीको माग गरेको हो ।
मंगलबार बसेको मञ्चको बैठकले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेशको अध्यादेशको विरोध गरेको हो । पूर्वप्रहरी महानिरीक्षकहरू मोतिलाल बोहरा, अच्युतकृष्ण खरेल, धुव्रबहादुर प्रधान, शयमभक्त थापा, ओमबिक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्री उपस्थित बैठकले अध्यादेश खारेजी गर्न माग गरेको हो ।
नेपाल प्रहरीका हितविपरीतका सबै क्रियाकलाप र निर्णयको आगामी दिनमा पनि विरोध गर्दै निर्णय मञ्जको बैठकले गरेको छ ।
टिकापुर हत्याकाण्डका अभियुक्तलाई आममाफी दिन सकिने गरी अध्यादेश अघि बढाएपछि बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन् । सो घटनामा एसएसपीसहित सात प्रहरीको आन्दोलनकारीबाट हत्या भएको थियो ।


