ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मंगलबार बिहान नेपालस्थित उत्तरकोरियाली दूतावास गएका छन्। उत्तर कोरियाली नेता किम जोङ इलको स्मृतिसभामा भाग लिन पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल झम्सिखेलस्थित उत्तरकोरियाली दूतावास गएका हुन्।
उत्तर कोरियाली दूतावासले अध्यक्ष नेपाललाई स्मृतिसभाको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेको हो। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाललाई दूतावासमा स्वागत गरेका थिए। यस अगाडि राजदूत जोले कार्तिक २३ गते कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए।
उत्तर कोरियाली नेता किम जोङ इलको सन् २०११ डिसेम्बर १७ मा निधन भएको थियो। किम जोङ इलले सन् १९९७ अक्टुबर ८ देखि २०११ डिसेम्बर १७ सम्म उत्तर कोरियामा शासन गरेका थिए। किम जोङ इल उत्तर कोरियाका अहिलेका शासक किम जोङ उनका पिता हुन्। अध्यक्ष नेपालले नेपाल–उत्तर कोरिया सम्बन्ध र उत्तर कोरियाको विकासका लागि किम जोङ इलले खेलेको भूमिकाको चर्चा गरेका थिए।
कार्यक्रममा नेपालका लागि उत्तर कोरियाली राजदूत जो लगायत दूतावासका अधिकारीहरु सहभागी थिए। सो कार्यक्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरु भने सहभागी भएका थिएनन्। नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध छ। उत्तर कोरियाको दूतावास समेत नेपालमा छ। तर उत्तर कोरियामा नेपालको दूतावास छैन। चीनका लागि नेपाली राजदूतले उत्तर कोरियाली मामिला हेर्ने गरेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र उत्तर कोरियाली नेताहरुबीच मजबुत सम्बन्ध रहेको छ। परराष्ट्र मन्त्रालयको सुझावलाई बेवास्ता गर्दै नेपाल २०७४ साउन २७ गते उत्तर कोरिया गएका थिए। त्यसबेला कोरियाली प्रायद्वीपमा तनाव बढेका कारण परराष्ट्र मन्त्रालयले नेपाललाई उत्तर कोरियाको भ्रमण नगर्न आग्रह गरेको थियो। राष्ट्रसंघिय नाकाबन्दीका कारण उत्तर कोरियाली दूतावासको संरक्षणमा सञ्चालित अस्पताल, रेस्टुरेन्ट र सूचना प्रविधिका कम्पनीहरु अहिले बन्द छन्।