वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा रहेको एक विद्यालयमा शिक्षकहरु समयमै नआएका भन्दै वडाध्यक्षले सबै शिक्षकको सरुवा गर्न माग गरेका छन्।
वडा नम्बर २० को अपौनी टोलमा रहेको श्री ने.रा आधारभूत विद्यालयमा वडाध्यक्ष रामकिशोर सिंहले मंगलबार अनुगमन गरेका थिए। अनुगमनको क्रममा बिहान ११ बजेसम्म पनि विद्यालय कुनै शिक्षक उपस्थित भएका थिएनन्।
समयमा कुनै पनि शिक्षक हाजिर नभएको तथा विद्यालय शिक्षाको स्तरसमेत कमजोर भएका कारण विद्यालयमा रहेका सबै शिक्षकहरुलाई सरुवा गरेर अरु शिक्षक पठाइदिन वडाध्यक्ष सिंहले महानगरपालिकासमक्ष माग गरेका छन्। उनले वडाको लेटरप्याडमै लेखेर शिक्षकहरुको सरुवा गरिदिन माग गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसाद यादवले आफू घरमा पूजा भएका कारण विद्यालय नगएको बताए। विद्यालयमा ९० जना विद्यार्थी छन् भने प्रअसहित ५ जना शिक्षक छन्।